कमल गाउँपालिका– २ तोपगाछीका प्रेम कट्टेल विगत दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले तीन कठ्ठा जग्गामा काँक्रा, १० धुरमा तरकारी र पाँच कठ्ठामा मकै लगाउनुभएको छ । अहिले कट्टेलको बारीमा हप्तामा १५० किलो काँक्रा उत्पादन भइरहेको छ । उहाँले काँक्रा प्रतिकिलो रु २२ मा बिक्री गर्दै आउनुभएको छ ।
“बर्सेनि रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुन्छ,” उहाँले भन्नुभयो– “यसै आम्दानीले घरखर्च चलेको छ ।”
यस्तै, स्थानीय यामबहादुर राईले १० कठ्ठा जग्गामा तरकारीखेती गर्नुभएको छ । उहाँले वार्षिक रु तीन लाख आम्दानी गर्न सफल हुनुभएको छ । तरकारीकै आम्दानीले उहाँले घरखर्च धान्नुका साथै छोराछोरीको पढाइलाई अगाडि बढाउन सक्नुभएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले ३७ हजार २०० हेक्टर जग्गामा तरकारीखेती उत्पादन भइरहेको छ । हिउँदे ३१ हजार २०० हेक्टर, बर्खे पाँच हजार हेक्टर तथा बेमौसमी करिब एक हजार हेक्टर जग्गामा तरकारीखेती हुने गरेको छ । बेमौसमी तरकारी प्रतिहेक्टर १३ मेट्रिक टन, हिउँदे १८ देखि २० मेट्रिक टन तथा बर्खे १६ मेट्रिक टन उत्पादन हुने गरेको कार्यालयका प्राविधिक शालिकराम भट्टराईले बताउनुभयो ।
