व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि संसद् र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरुले सप्तरीमा हात्तीको आक्रमणबाट नागरिकको ज्यान गएको तर सरकारी निकायले ध्यान नदिएको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको नाममा बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभयो ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेश नं २ मा अझै पनि निर्वाचनको माहोल बन्न नसकेको भन्दै तत्काल वातावरण बनाउन उहाँहरुले आग्रह गर्नुभयो ।
यसरी धारणा राख्ने सांसदहरुमा तेजुलाल चौधरी, धना पहरी, पुरुषोत्तम पौडेल, प्रतीक्षा तिवारी मुखियालगायत हुनुहुन्थ्यो ।
त्यसअघि मधेस केन्द्रित दल सम्बद्ध सांसदहरुले आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् । रासस