सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको जिकिर गर्नुभयो ।
मधेसमा दुई प्रदेश दिने सहमति भएपनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानी गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो – “सीमाङ्कन नै मधेसी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जाने भन्नु मधेस र मधेसीलाई धोका दिनु हो ।”
केन्द्रीकृत शासन व्यवस्थाका कारण मधेस र मधेसी जनताले कहिल्यै पनि अधिकार प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो ।
मधेसलाई बेवास्ता गरेर निर्वाचन गर्न खोजिए त्यो देशकै लागि दुर्भाग्य सावित हुने चेतावनी उहाँले दिनुभयो ।
मधेसी दललाई भारत परस्त देख्ने नेपालका राजनीतिक दलका नेता नै दिल्लीबाट सञ्चालित भएको उहाँको आरोप थियो ।
आफूहरु विगतमा पटक÷पटक सरकारमा बसेको भएपनि सिंहदरबारको चार किल्लाले मधेसलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकिएकाले आन्दोलनको बाटो रोजेको बताउँदै उहाँले अधिकार प्राप्तिका लागि अब जनतालाई दुःख नहुने दबाबमूलक विरोध कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।