सरकारद्वारा बाचा गरिएअनुसार रक्तपातपूर्ण युद्धको अन्त्यका लागि गरिएका केही प्रतिवद्धता पूरा नभएको जनाउदै सिरियाली विद्रोही समूहले आफू काजकिस्तानको राजधानीमा मङ्गलबार हुने भनिएको तेस्रो चरणको वार्तामा अनुपस्थित हुने जनाएको छ ।
सिरियाली प्रतिपक्षी (विद्रोही) को प्रतिनिधिमण्डलका प्रवक्ताले सोमबार एएफपीसँगको कुराकानीमा रसिया र टर्कीको पहलमा भएको सिरिया शान्ति वार्ता प्रक्रियामा पहलकर्ताले सिरियाली प्रशासनलाई जिम्मेवार भई आउन लगाउने गरी गरेको प्रतिबद्धता पूरा नभएको भन्दै वार्तामा आफ्नो समूह सहभागी नहुने बताउनुभयो ।
सिरिया युद्धमा सरकार निकट रसिया र विद्रोही निकट टर्कीले गरेको पहलअनुसार पहिलो र दोस्रो चरणको वार्ता काजकिस्तानको राजधानी अस्तानामा भएका थिए ।
सन् २०१६ को डिसेम्बरमा भएको मस्को र इस्तानबुलको पहलअनुसार जनवरी र फेब्रुअरीमा दुई चरणका वार्ता भए पनि दुई समूहबीच धेरै मुद्दामा समझदारी बन्न बाँकी रहेको विद्रोहीको भनाई छ ।
युद्धबिरामको भावनाअनुरुप वार्ता प्रक्रिया अघि नबढेकाले हामीले अस्तानामा हुने नयाँ चरणको वार्तामा उपस्थित नहुने निर्णय लिएका छौँ, अङ्कारानिकट सुलतान मुरद विद्रोही समूहका अहमद ओथम्यानले बताउनुभयो ।
सरकार र सरकार समर्थक मिलिसिया (लडाकू) ले युद्धबिरामपछि पनि विस्फोट गराउने, स्थानीयलाई विस्थापित गराउने विद्रोही समर्थकलाई घेराबन्दी गर्ने कार्यलाई जारी राखिरहेको ओथम्यानले एएफपीसँग बताउनुभयो ।
हामी (विद्रोही) समूहले नयाँ वार्तामा सहभागी नहुने कुरा वार्ताका पहलकर्ता समक्ष जानकारी गराइसकेको उहाँको दाबी छ ।
सिरियाली अल वाटन दैनिकका अनुसार नयाँ चरणको वार्ताका लागि सरकारी टोली सोमबार अस्ताना गएको छ ।
सरकारी टोलीको नेतृत्व संयुक्त राष्ट्रसङ्घको उपस्थितिमा जेनेभामा भएको वार्तामा नेतृत्व लिनुभएका बसार अल जफारीले नै गर्नुहुनेछ । रासस÷एएफपी