उत्तर कोरियाले एकै पटकमा चार वटा प्रतिबन्धित शक्तिशाली क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) परीक्षणको संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेर्रस्ले सोमबार निन्दा गर्नुभएको छ ।
यस्ता कार्य सुरक्षा परिषद्को प्रस्ताव उलङ्घन गरेको यसले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर सङकट ल्याउने उहाँले बताउनुभएको छ ।
त्यसैगरी दक्षिणी कोरिया, जापान र संयुक्त राज्य अमेरिकालगायत विश्वको अन्य कैयौँ देशले उत्तरी कोरियाको यस परीक्षणको निन्दा गरेको छ ।
उक्त चार वटै मिसाइल करिब एक हजार किलोमिटरको दूरीसम्म आकाशमा उडी समुद्रमा झरेका थिए । चारमध्ये तीनवटा मिसाइल जापानी सागरमा अवस्थित, जापानले आफ्नो निर्बाध आर्थिक प्रयोजनका लागि उपयोग गर्दै आएको सामुद्रिक खण्डमा झर्न पुगेको दक्षिण कोरियाली तथा जापानी अधिकारीहरुले बताएका थिए ।
यसअघि, केही महिनायता उत्तर कोरियाले विभिन्न शृङ्खलाका साना, ठूला आधुनिक क्षेप्यास्त्र निरन्तर परीक्षण गर्दै आइरहेको थियो ।
अमेरिका र दक्षिण कोरियाबाट जहिले पनि उत्तर कोरियालाई खतरा रहेको भन्ने मानसिकता बोक्नुभएका राष्ट्रपति किम जोङ्ग उन आफ्नो मुलुकको आणविक शक्ति र क्षेप्यास्त्र क्षमतामा वृद्धि गराउनेतर्फ खुलेरै लाग्नुभएको बताइएको छ । रासस÷एपी÷सिन्ह्वा