युुवा ब्रह्माचारीे जुगादाह्री खौरिएर सफाचट हुन्छ र युवा गृहस्थले दाह्रीजुँगा पाल्छ भने बुझ्नु पर्छ कि ऊ गम्भीर अपराध गर्दैछ भन्ने सुनेको थिएँ । दरवार हत्याकाण्डमा दोषी भनिएका तत्कालिन युवराज दिपेन्द्र र वर्तमान गृहमन्त्री विमलेन्द्र निधिमा यो कथन लागु भएको छ । यहि फागुन २३ गते राजविराजमा प्रहरीको गोली लागि मृत्यु भएका सन्जन मेहता, आनन्दप्रसाद शाह, पिताम्बर मण्डल र दिगम्बर झा मध्ये आनन्द प्रसाद साह कांग्रेसका सक्रिय कार्यकर्ता भएको र सप्तरीमा मधेसी मोर्चाका आवरणमा कांग्रेस र माओवादी केन्द्रका गनेमानेका नेताहरुको सक्रियता रहकाले गृहमन्त्री निधि सप्तरीमा षडयन्त्र रचेर घटनाको दिन कैलाली हानिएको प्रष्ट हुन्छ । केही दिन अघि एमालेको पक्षमा आएको जनलहरले देखि अत्तालिएर क्रान्तिकारी पिता महेन्द्रनारायण निधिको छालामा जम्दै आएको आफ्नो राजलाई नटिक्ने देखे पछि निधिले अत्तालिदै एमाले विरुद्धको षडयन्त्रको तानावाना बुनेका थिए । प्रतितगमनलाई सघाउने अतिवादीलाई मधेसका जनताले लखेट्नेछन् भन्ने गृहमन्त्रीको षडयन्त्रपुर्ण अभिव्यक्ति यही हर्कतको रिहर्सल थियो ।
मधेसीमोर्चाले गत बर्ष विमलेन्द्र निधिको घरमा हमला गरेको थियो । निधिको विरगंना भाउजुले एक्लै अराजक भीडको सामना गर्नु भएको थियो । उस्तै प्रकारको हर्कत नदोहोरियोस् भनेर एमालेले सद्भाव बाँड्न, त्रास हटाउन असल नियत बोकी मेची महाकाली अभियान ल्याएको थियो । निधि स्वविवेकले चल्ने भए त निधिले हर्ष प्रकट गर्ने थिए । आखिर भारतका ज्वाई परेकाले उनलाई देशभन्दा ससुराली प्यारो मानेर अग्निकुण्डमा देशलाई निधिले धकेल्ने दुष्प्रयास गरेका छन् । उनी आफ्नो प्रदेशमा एमालेले २१ जना केन्द्रीय सदस्य थपे पछि त पागल नै बनेका थिए । जनकपुरमा कांग्रेसको धरातल पातलिदै गएको छ । निधिको जहाज डुब्दो छ । गत संविधान सभा चुनावमा कांग्रेसले जनकपुरमा करारी हार भोग्ने थियो । तत्कालीन राष्ट्रपतिको गृह जिल्ला परेकाले त्यहाँ केही गोलमाल गरिएको थियो । महामहिम राष्ट्रपति रामवरण यादवले मर्ने बेला हरियो काक्रो भनेझैँ जनकपुरमा कांग्रेसप्रति धृतराष्ट्र नीति अख्तियार गरी सेनाको दुरुपयोग गरेर एमालेका शक्तिशाली नेता रघुबीर महासेठ र नेतृ जुलीकुमारी महतोलाई हराएर आफ्ना पुत्र डा. चन्द्रमोहन यादव र हालका गृहमन्त्री विमलेन्द्र निधिको करारी हार टारेको षडयन्त्र लुकाउन खोज्दा खोज्दै पनि पर्दाफास भैसकेको छ ।
मधेसी समुदाय देशभक्त, उद्यमी र शान्तिप्रीय जाती हो । नेपालको मधेस र भारतीय बीचको अन्तर भनेकै मेहनती र भिखमगामा हुने संस्कार बीचको अन्तर हो । मधेसी समुदायमा भीखमगा हुने कुचलन छैन । बाँकी भारतमा भने जोगी र भिखारी हुने लत बाक्लो छ । मधेसको काँधमाथि सात करोड भारतीय भिखारी पाल्ने बोझ छ । यस्तो उद्यमी र इमान्दार जातिलाई युद्धमा फसाएर तहसनहस पार्ने भारतीय रुचीलाई सबै नेपालीले संयम धारण गरेर चिर्नु पर्छ । अर्काेतर्फ हामीले मुर्दा शान्तिमा रमाएर चुनाव भाँड्ने गोटीको रुपमा उपयोग भईरहेका निधिहरुको लहैलहैको पछि लतारिएर संविधानका मलामी हुनु छैन । कहिलेकाँही असली व्याडमा पनि खराव विजन पर्दाे रहेछ । महेन्द्र नारायण निधिका छोराको रुपमा विमलेन्द्र निधि यसका उदाहरण हुन् । देशकै सबैभन्दा पाको पुरानो र लोकतान्त्रिक दलमा शेरबहादुर देउवा जस्ता चारैतिर बराबर देख्ने अवसरवादी नेताको हालीमुहाली हुनु अर्काे आश्चार्य हो । गृहमन्त्रीको भुमिकामा रहेर विपक्षी दलले जनताको आगनमा पुग्ने चाहना राख्दा असहिष्ण हुनु कहाँ सम्मको हर्कत हो ? एउटा दलले जनताको काखमा रहन पाउनु पर्छ । जनताको आगनमा टेक्न पाउनु पर्छ र जनताको साथ लिन अवरोध झेल्नु हुँदैन । तर निधि प्रशासनले एउटा लोकतान्त्रीक दलको जनतासम्म पुग्ने हक छिनालेको छ । दाहाल सरकारले एमालेमाथि सदासयता देखाउन सकिरहेको छैन । कुनै पनि दलले विना हातहतियार शान्तिपुर्ण ढंगले सभा सम्मेलन भेलाहरु आयोजना गर्न पाउने संविधान प्रद्धत मौलिक हक निधिकै कुटिल चालका कारण छिनालिएको छ । जनताले रगत बगाएर प्राप्त गरेको अधिकार छिनाल्ने गृहमन्त्रीलाई कुनचाँही नक्कली प्रभुले आदेश दियो ? अरुको गुलाम बनेकाले छिमेकीको स्वतन्त्रता र सम्बृद्धिलाई सम्मान गर्न र औकातलाई सलाम गर्ने हिम्मत देखाउन सक्दैन । आफ्नो घरमा आगो झोसेर ससुरालीको ताबेदारी गर्ने निधिलाई कठै मात्र भन्न सकिन्छ । यो कांग्रेसको विनाशकाले विपरित बुद्धि हो ।
विमलेन्द्र निधिहरुबाट आफ्नो स्थान सुरक्षित हुने नदेखेर नै कांग्रेसबाट महन्थ ठाकुर, विजय गच्छदार, रामजनम चौधरीहरु जस्ता हस्तीहरु बाहिरिनु परेको थियो । उनीहरु नबाहिरियसम्म आफ्नो स्वार्थ रक्षा र स्थान पक्का हुने नदेखेकाले त्यतिबेला मधेस कांग्रेसमा पहिरो जाँदा पनि निधिले कानमा तेल हालेका थिए । त्यागी परेका भए उनीहरुलाई रोक्न पहल गर्दा हुन् । आज बडो मधेसमैत्री भएर गोहीका आँसु चुहाउनुको कुनै अर्थ छ ? मधेसबादी नेताहरुलाई निधि र देउवाहरुको यो सब चलाखी थाहा छ । कोइराला र देउवाहरु आठ दश पटक सरकारमा दोहोरी तेहरी प्रधानमन्त्री भएपनि एउटा सम्म प्रधानमन्त्री मधेसबादी नेतालाई नदिएकाले कांग्रेसबाट मात्र रुष्ट हुनु पर्ने मधेसी शक्ति सबैबाट रुष्ट हुनु नजानिँदो रहस्य हो । राजविराजको सडकमा छर्किएको रगतले गृहमन्त्री निधिका हात रङ्गिएका छन् । देशभक्त सुरक्षाकर्मीहरुको विवेकले गर्दा देश एक भयानक नरसंहारबाट जोगिएको छ । एमालेको मेची महाकाली अभियानमा जनसागर उत्रिएपछि सत्तारुढ गठबन्धनको सात्तो उडेको थियो । जनता–जनता भिडाएर देशलाई रुवान्डा र बुरुण्डी बनाउने र आफ्नो धरातल जोगाउने सत्तारुढ गठबन्धनको षडयन्त्र शान्तिप्रिय जाति मधेसी समुदायको सचेतना र संयमका कारणले विफल भएको छ । गतबर्ष टिकापुर काण्डमा पनि एसएसपी लक्ष्मण न्यौपाने लगायतका देशभक्त राष्ट्रसेवकहरुको रगतले कांग्रेसको हात रंगिएकै हो । सुशिल कोइरालाको सरकार रहेको बेला कांग्रेसकै सांसद अम्रेसकुमार सिंहले टिकापुर पुगेर पहाडियालाई डोको नाम्लो बोकेर पहाड तिर खेद्न थारु समुदायलाई आह्वान गरी उत्तेजना फैलाएपछि टिकापुर जलेको थियो । नक्कली प्रभुको आदेश शिरोधार्य गरी कांग्रेसले सिंहमाथी अनुशासनको कार्बाही अघि बढाएन । आज पनि नैतिकता भएको भए कांग्रेसले राजविराजमा बगेको जनताको रगतको सम्मान गर्दै निधिलाई पदमुक्त गर्न सक्थ्यो । टीनको खानीमा चाँदीको आशा गर्न सकिँदैन । राजविराज षडयन्त्र रचेकै दिन राजधानीको मुटुमा रहेको रत्नराज्य क्याम्पसमा प्रहरीद्वारा कु गरियो । क्याम्पस प्रमुखलाई प्रहरीले कब्जामा लिनु लोकतन्त्रको उपहास हो र विश्वविद्यालयमाथिको गम्भिर अपमान र अपराध हो । कुर्सीमा बसेर देशलाई गृहयुद्धतिर धकल्न धक नमान्ने गृहमन्त्रीलाई प्रधानमन्त्रीले काखी च्यापी रहने हो भने सम्मानित संसदले प्रधानमन्त्रीको नियतमाथी नै प्रश्न उठाउनु पर्ने हुन्छ । जनताको रगतलाई चौलानी ठानेर शान्तिपूर्ण जनअभियान भाँड्न अर्काेतिर बाट जनतालाई उकास्ने हर्कत एक दण्डनीय एवं अमानवीय अपराध हो । यस हर्कतमा गृहमन्त्रीको सुरुदेखि नै संलग्नता छ । स्ववियु चुनाव भाँड्नबाट सुरु गरेर घोषित स्थानिय निकाय तहको चुनावबाट पनि पछि हट्ने, प्रदेश चुनाव र संघिय संसदको चुनाव पनि हुन नदिने, देशलाई संवैधानिक संकट तिर धकेल्ने नियतका साथ कांग्रेसले निधिलाई मोहराको रुपमा अघि सारेको देखिन्छ । लोकतन्त्र प्राप्त गर्नको लागि विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, महेन्द्र नारायण निधि, गिरिजा प्रसाद कोइरालाहरुले सिंगो जीवन लगाएका थिए । आज कांग्रेस भारतीय इशारामा नाच्ने कठपुतलीहरुको क्लबका रुपमा देखा परेको छ । कांग्रेस सिध्याउने कारकतत्वको रुपमा देउवा र निधिहरु यति चाँडै सतहमा देखापर्नु दुखद पक्ष हो । नेपालको अस्तित्व संकटमा परेको बेला देउवा त एक अर्काे बलभद्र कुँवर हुनुसक्नु पर्दथ्यो भने बिमलेन्द्र निधिले लोकतन्त्रको रक्षा र संस्थागत विकासको लागि भारतमा जवाहरलाल नेहरुले खेलेजस्तै भुमिकामा आएर संक्रमणकालिन नेपालका लागि एक स्तम्भका रुपमा उभिन सक्नु पर्दथ्यो । लाग्छ, कांग्रेसको पतन नजिकिँदै छ । किनकी देशकै पुरानो र लोकतान्त्रिक दलले आफ्नो पेटभित्र देउवा र निधिजस्ता माकुरे भु्रण बोकेको छ । राजविराज घटना र एमालेबाटको उनीहरुको रक्षात्मक, त्रसित र अपराधी मनोविज्ञान हेर्दा देशलाई रुवान्डा र बुरुण्डी बनाउने देशीबिदेशी तत्वले सत्तारुढ गठबन्धनलाई शिखण्डीको रुपमा उभ्याएका प्रमाणित हुन्छ । नेपालको भूमिभित्र विश्व महाशक्ति र अन्य सानाठुला भरियाहरुको सीप चल्ने छैन । नेपालमा नेपाली जनता नै सबैखाले शक्तिका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुन् । जनतालाई नटेर्ने र ससुरालीलाई ढोग्ने निधिको विनाशकाले विपरित बुद्धि सुतेको सिंह माथि उफ्रिने मृगको जस्तै आत्मघाती कदम मात्र हो ।