स्वास्थ्य मन्त्री गगन थापाले तोकिएको मिति वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य समाप्त हुने बताएका छन् । साथै उनले वर्तमान सरकार आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गर्न गठन भएको हुनाले निर्वाचन नै गर्न नसक्ने अवस्था आयो भने सरकारको औचित्य स्वतः समाप्त हुने बताए ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले घोषित मिति मै स्थानीय तहको निर्वाचन गर्ने कुरामा सरकार अलमलमा नरहेको जिकिर गर्दै वैशाख ३१ गते नै निर्वाचन हुन्छ, सरकार अलमलमा छैन, निर्वाचन गराउन नसक्ने हो भने सरकारको औचित्य समाप्त हुन्छ, सरकार हुनुको अर्थ हुँदैन, सरकार लम्ब्याउने र तन्क्याउनेको अर्थ छैन।
साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकारले संसदमा टेबुल गराएको संविधान संशोधन प्रस्तावलाई पारित गराउनको लागि हामी हरसम्भव राजनीतिक प्रयास गर्छौं, यसको बावजुद पनि भने जस्तो निश्कर्ष निस्कने सकेन भनेपनि सबै दल निर्वाचनमा जान उत्साहित हुनुपर्छ, निर्वाचन आफूलाई पुष्टि गर्ने सवैभन्दा राम्रो मौका हो ।