साम्राज्यवादी शक्तिहरुले आफ्नो निश्चित रणनीतीक स्वार्थपुर्तिका लागि केही पात्रहरुको “जादुगरी” तस्वीरको रचना गर्ने गरेको विश्व इतिहास छ । यस्ता पात्रहरुलाई आफ्नो योजनामा प्रयोग गर्ने र उपादेयता सकिएपछि शौचालयभित्रको कागज बनाएर फाल्ने साम्राज्यवादी विश्व परम्परा नेपालमा पनि चर्कदो छ ।
एक जमाना थियो, जुनबेला पर्दाभित्र लुकेको अदृश्य कलाकारले प्रचण्डका दुइवटा तस्वीरहरु बजारमा ल्याएको थियो । ती मध्ये एउटा तस्बीर थियो, “विश्वक्रान्तिको नायक” का रुपमा र अर्काे थियो, “विश्वविख्यात आतंककारी” का रुपमा । एउटै कलाकारद्वारा रचित ती दुई भिन्न तस्बीर मध्ये क्रान्तिको नायकको को तस्वीर बनाइएको थियो गरिब नेपालीहरुलाई प्रचण्डका पछाडी जम्मा गरेर ध्वंस मच्चाउनका लागि र “आतंककारी” को तस्बीर देखाइएको थियो राज्यलाई तर्साएर नेपाल भित्र घुस्ने सौदाबाजी गर्नका लागि । अन्ततोगत्वा उनको “क्रान्ति नायक”को तस्बीर उज्यालोमा राखेर हेर्दा त्यो भगौडा देखियो भने “आतंककारी”को डरलाग्दो आकृतिलाई नजिकबाट हेर्दा त्यो चाँही उनकै तस्बीर बनाउनेको भरियाका रुपमा स्पष्ट थियो ।
आफुले जीवनभरि गरेका अपराधबाट त्रसित भई सुरक्षित बास खोज्ने क्रममा जब प्रचण्ड साम्राज्यवादको सेन्ट्रि पोष्टभित्र डेरा सार्न पुगेका छन् । त्यस्तो बेला नेपालका केही पेटपाला लेखक, पत्रकार र नेताहरुले उनलाई “राजनेता” को पगरी गुथाउने अभियान सुरु गरेका छन् । चारोको मात्रा अनुसार दुनियाँको आँखामा छारो हाल्ने तालिम लिएका यिनै पेटपालाहरुले ६ महिना अगाडी सम्म प्रचण्डको निषेध नै कथित लोकतन्त्रको रक्षाको ग्यारेन्टी हो भनी भालुपुराण लेख्ने गर्थे । जनताका अनुभुतीमा नारद, आफ्ना कार्यकर्ताहरुको आँखामा चरम भ्रष्टचारी संसदवादीका कार्यकर्ताहरुको आँखामा बर्बर आततायी र देशका लागि द्रोही ठहरिएका उनै प्रचण्ड पिँधबिनाको लोटा बनेको बेला साम्राज्यवाद र पेटपाला विद्वानहरुको फर्जि मुल्यांकनमा “राजनेता”ठहर्नु एकदमै स्वभाविक छ । “राजनेता” को दुर्लभ व्याख्या प्रचारमा आउन थालिसकेपछि प्रचण्डका थोरै चर्चा गर्नु राम्रै हुन्छ ।
१. प्रचण्ड त्यस्तो चारित्रिक पात्र हो, जसको विश्वासघातलाई दुनियाँको कुनै पनि घटनासँग तुलना गर्न सँकिदैन । उनका पेटमा अहिले २० हजार मानव कंकाल छन् । ती कंकालका मुक्तिका लागि भनी निलिएको थियो । जसले सिंगो देश र उत्पीडित वर्ग समुदाको स्वतन्त्रताको लागी आफ्ना सन्ततीहरु प्रचण्डको बलिवेदीमा चढाउन मन्जुर गरेका थिए, ती नेपालीहरु आज उनको बन्धक बनेका छन् भने उनी चाहिँ “नयाँ नेपाल” का ऐयासी शासक । आफ्नो कचल्टिएको कुण्ठालाई तृप्त गर्न रक्तकुण्डको परिकल्पना गर्नु, जनताका सर्वाेत्तम छोराछोरी भनी उकास्दै गरिबहरुलाई रगतको मात्र चढेपछि त्यसलाई बिना हिच्किचाहट कुर्सीको बजारमा सौदाबाजी गर्नु र अन्तगोत्वा आफुलाई“प्रचण्ड” बनाउने तीनै मानिसहरुको छातीमा बुट बजार्नु जस्ता दन्त्यकथाको राक्षस प्रबृत्ति आजको क्रुरतम् मानिसले पनि कल्पना गर्न सक्दैन । नैतिकता, नीती र मामुली प्रकारको संवेदना पनि नभएका यहाँका कथित कम्युनिष्ट विरोधीहरुलाई प्रचण्डको प्रबृत्ति महान लागेको होला तर यस्तो सोच राख्नेहरु पशुबृत्ति अगाँलेर बाँचेका मानिसहरु हुन् किनभने पुँजीवादका पनि आफ्ना मुल्य मान्यता, नीति र नैतिकताहरु छन् । युद्धकालमा विपक्षी कार्यकर्ताहरुको शिकार कथित शान्ति कालमा आफ्नै कार्यकर्ताहरुको शिकार गरेर महान कहलिएका व्यक्ति पुँजीवादी बृत्तमा पनि कतै छैनन् ।
२. कम्युनिष्टका आँखामा प्रचण्ड को तस्वीर साम्राज्यवाको मानसपुत्रका रुपमा देखिन्छ । माक्र्सवादको विकास पुँजीवाकोृ निषेधको सिद्धान्तका आधारमा नै अघि बढेको छ । तर प्रचण्डका लागि पुँजीबादी साम्राज्यवाद मानवताबादी दर्शन बनेको छ । उनी साम्राज्यवादलाई समस्याको समाधान ठान्दछन् भने माक्र्सवादले यसलाई अन्त्यहीन समस्याको पुनर्उत्पादन गर्ने कारखाना ठान्दछन् । प्रचण्ड साम्रज्यवादलाई जनताको शासन प्रणाली ठान्दछन् भने माक्र्सवाद यसलाई मुट्टीभर लुटेरा पुँजीपतीहरुको सत्ता सञ्जाल ठान्दछ । कम्युनिष्टको नाममा र अझ विशेषगरी माओवादका नाममा प्रचण्डले जे–जस्ता अपराध गर्दै आएका छन् त्यो कुनै संयोग, मानवीय कमजोरी वा अज्ञानतावश भइरहेको छैन । यो प्रचण्डलाई प्रयोग गरेर कम्युनिष्ट विचारधारको बद्नाम गर्ने साम्राज्यवादको सुनियोजित षडयन्त्र हो । क्रान्तिको नाममा दर्शकहरु अगाडी राखेर मानिसका घाँटी रेट्न लगाउने र क्यान्टोन्मेन्टबाट अपमानजनक रुपले खेदिन लागेका युवायुवतीहरुको समुद्री डाँकाको शैलीमा चेक लेट्ने काम भाडामा प्रयोग भएको अपराधीबाहेक अरु कसैले गर्न सक्दैन ।
३. प्रचण्ड नेपालको अपराध दुनियाँका देवता बनेका छन् । समाजको आज जुन स्तरमा अपराधीकरण भएको छ, यो उनकै देन हो । उनले क्रान्तिका नाममा राजनीतिको अपराधीकरणलाई उत्कर्षमा पु¥याए । पैसाका लागि शैक्षिक, औद्योगिक, व्यापारिक प्रतिष्ठानहरुलाई अपराधी र गुण्डाहरुको थलोको रुपमा परिणत गर्ने श्रेय पनि उनैलाई जान्छ । युद्ध वा शान्तिका नाममा लुटेको पैसालाई सेतो बनाउन देशको कृषियोग्य जमिनको माफियाकरण गरेर चौपट बनाउने सिद्धान्तका प्रणेता पनि उनै हुन् । नेपालमा अपवादका रुपमा सुनिने गरेको चन्दन तस्करीले उनकै शासनकालमा विश्व हल्लायो । नक्कली लडाकुको नाममा पैसा खान देखी सक्कली लडाकुलाई पिटेर उनीहरुको चेक लुट्ने सम्मका अपराधमा लम्पट भएका पात्र हुन् यँहाका पेटपाला विद्वानहरुका “राजनेता” ।
४. अमेरिका विल गेटस आफ्नो लगनशीलताले विश्वका एक नम्बर धनी भएको भनिन्छ । नेपालका प्रचण्डले चाँही “किल गेट्स”(मारेर हत्याउ) को सिद्धान्त बोकेर एशियाकै धनी बनेका छन् । उनको अकुत सम्पत्तिमा न त एक सुको लगानी परेको छ, न एक मिनेटको श्रम । क्रान्तिका नाममा जनताको रगत र शान्तिको नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान् बन भन्ने विचार नै प्रचण्डपथ हो ।
५. जसरी बैज्ञानिक अल्बर्ट आइन्सटाइनले आफ्नो परमाणु सुत्रको अविष्कार विश्व विनाशका लागि उपयोगी होला भनी कल्पना गरेका थिएनन् र अमेरिकाले उनको सिद्धान्तको दुरुपयोग गरेर जापानमा लाखाँै मानिसहरुको ज्यान लिँदा आइन्स्टाइनले आफँैलाई धिक्कार्दै रोएका थिए रे । त्यसैगरी उपयोगितावादी दर्शनको विकास गर्ने अंग्रेव दार्शनिकहरुले प्रचण्डको उपयोगितावादी व्यवहारलाई हेर्न पाएको भए पक्कै पनि आफ्नै मुखमा थुक्थे होला । धनदौलत र पदको लालचले वा अन्जानबश उनको नजिक भएकाहरु सबै क्षणिक कालका सहयात्री मात्र रहे । आजभोली बजारीया भोजन पार्टीहरुमा प्रयोग हुने प्लाष्टिकका थालीहरुझँै मानिसहरुलाई प्रयोग गरेर फ्याँक भन्ने सुत्र उनको गुरुमन्त्र हो । उनले पार्टीभित्रका यानप्रसाद गौतमलाई पहिले सेकेण्ड प्रचण्ड बन्न उकासे बाबुरामको चरित्रहत्या गराउनका लागि । जब उनको काम सकियो, त्यसपछि यानप्रसादलाई आलोक बनाएर रोल्पामा बलि चढाइदिए । पार्टी भित्र मोहन बैद्यको पद र बाचस्पति देवकोटाको पार्टी सदस्यता खाइसकेपछि लगाँैटिया यार का रुपमा परिचित बादललाई “ लिन पियाओवादी” को आरोपमा शिकार बनाए । आफ्नो कुण्ठित महत्वाकांक्षालाई तृप्त गर्न उनले सिंगो समाजलाई धमिराको घर र २० हजार निरपराध नेपालीहरुलाई कंकालको पहाडमा परिणत गरिदिए । फगत कुर्सी र धनका लागि यस्तो अनैतिकता र बर्बादीको अगुवाई गर्ने व्यक्ति हो, पेटपाला विश्लेषकहरुको “राजनेता”
६.प्रचण्डको अर्काे नाम हो – भोग र ऐयास । सर्वहारावादको गीत गाएर डेढलाखको पलङमा सुत्नु, सुमार्गीले युरोपबाट ल्याएर उपहार दिएको बनिबनाउ भोजनबाट पेट भर्नु, टाउको दुख्दा सिन्धुपाल्चोकको अत्याधुनिक रेष्टुराँमा गएर आराम गर्नु, अभागी लडाकुहरुको पेट काटेर जम्मा गरिएको पैसाले १० करोडको ऐयासी दरबार खरिद गर्नु, एक पैसा कर नतिरी चोरी गरेर ल्याएको गाडीहरुमा सयर गरेर नेतागीरी देखाउनु, टेलिकमका फ्रिक्वेन्सीहरु अवैधरुपमा विक्रि गरी करोडाँै रकम कुम्ल्याएर विदेशी बंैकमा जम्मा गर्नु जस्ता भोग विलास र ऐयासका कुकर्महरु राजनेता को धर्मभित्र पर्छन की पर्दैनन् भन्ने कुरा सर्वसाधारणहरुलाई पनि थाहा छ ।
७. पार्टीभित्र मोहन बैदको भोट चाँहिदा जनविद्रोह र सम्राज्यवाद–विस्तारबाद को नोट चाहिँदा शान्ति, सडकमा विदेशी दलालहरुको विरुद्धमा विलाप र त्रिदलिय बैठकमा मेलमिलाप, क्रिश्चियनहरुले गोजीगरम गरिदिँदा मन्दिरका पुजारीहरु सँग पनि लेबी र कुर्सीको पुजा गर्नुपर्ने बेला आयो भने भैसी पनि देवी, पार्टीको बैठकमा कांग्रेस र एमाले शान्तिविरोधी र कांग्रेस एमालेसँगको बैठकमा मोहन बैद्य शान्तिविरोधी । यी हुन् प्रचण्डका केही नाँगो व्यवहारवादी राजनीतिको अभ्यासका केही नमुनाहरु । सामुन्नेमा जे देखिन्छ, त्यसबाट फाइदा लिन जे गर्नुपर्छ त्यही गर्ने । यसका लागि न कुनै सिद्धान्त चाहियो न त कुनै नीति । लुटेर, फकाएर, रोएर, कराएर, नाचेर, घुक्र्याएर, तर्साएर, खुट्टा मोलेर, रुन्चे अनुहार देखाएर जुन तरिकाले लाभ प्राप्त हुन्छ, त्यही गर । अवसरवादी धुर्तहरुले आफ्नो निकम्मापनलाई ढाकछोप गर्न यौटा थेगोको सहारा लिन्छन् । त्यो हो परिस्थिती । “क्रान्तिकाल” मा शान्तिको कुरा गर्नेहरुले प्रतिगामी सरदार भन्न थालेकाछन् । प्रचण्डले भने जस्तो हिजो शान्तिको कुरा गर्नेहरु पनि गद्दार थिएनन् र आज क्रान्तिका कुरा गर्नेहरु पनि सरदार होइनन् । यो सबै उनको फाइदावादले फरक पारेको व्याख्या हो । उनका लागि हिजो क्रान्ति फाइदाजनक थियो । किनभने कुर्सी र धनको लागि बार्गेनिङ्ग गर्ने शक्ति तयार भयो र उनको पार्टी शान्तिको कीर्तन सुनाउँदै सत्तामा आयो । अव क्रान्तिको गीतबाट लाभ मिलेको छ । त्यसैले क्रान्तिको कुरा सुनाएर उनको घरजम भत्काउने खतराका रुपमा रहेकोहरु प्रतिगामी बनेका छन् ।
८. पार्टी भनेको प्रचण्ड र प्रचण्ड भनेको सुपर पार्टी । उनको पार्टी उनका लागि आजीवन निजी क्लब रह्यो । उनको लामो इतिहास नबुझ्नेहरुले १२ बुँदे पछिको इतिहासमात्र हेरे पुग्दछ । १२ बुँदे समझदारी, बृहत शान्तिसम्झौता देखि आजसम्म उनले जति पनि विषयहरुमा संसद्वादीहरुसँग हस्ताक्षर गरेका छन्, ती मध्ये एउटा विषय पार्टीमा निर्णय गराउने केहि प्रस्तावसम्म पनि राखेका छैनन् । साँँच्चै भन्ने हो भने माओवादीका नाममा जे–जति कामहरु भएका छन्, ती सबै प्रचण्डका निजी निर्णयहरु हुन् । आज एमाओवादी भित्र देखा परेको विग्रह सामान्य स्तरको छैन । मोहन बैद्यहरुलाई भारतमा गिरफ्तार गराएर चुनबाङ बैठक गरेको देखी लिएर अध्यक्षका नाममा गतिछाडा किसिमले गरेको क्रियाकलापहरुसम्मको घाउ एकमुष्ट रुपमा त्यो पार्टीमा बल्झेको छ । कम्युनिष्टको आवरणमा अत्याचार गर्दै आएका रुमानियाका तत्कालिन राष्ट्रपति चाउचेस्कुलाई सन् ९० को दशकमा जनताले झुण्ड्याएका थिए । एमाओवादीभित्र पनि प्रचण्ड त्यही दिशातिर जाँदैछन् । यस्तो छाडा अराजकतावादी व्यक्तिलाई शान्ति र लोकतन्त्रको नायकको नक्कली टोपी लगाइदिएर बसेका संसद्वादीहरुको हातमा अन्त्यमा शुन्य मात्र झर्नेछ ।
९. देशद्रोहको कदमा प्रचण्डले इतिहासका सबै पात्रहरुलाई माथ गरेका छन् । १२ बुँदेको गुरुदक्षिणाका रुपमा उनले दिल्लीले सिफारिस गरेको नागरिकता ऐनलाई पारित गर्न निर्णायक भुमिका खेलेका थिए । डि.पी.आर नबनेर मरिसकेको महाकाली सन्धिलाई ब्युँताउने, भारतीय विस्तारबादले अवैधरुपमा निर्माण गरिरहेका र नेपालको तराई जलमग्न पार्दै आएको सीमावर्ती बाँधहरुलाई मान्यता दिने, विप्पा सम्झौता गर्न बाबुराम भट्टराईलाई सल्लाह दिने, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भारतीय बायुसेना राख्नका लागि क्याविनेटको बैठकमा हिसिला यामीलाई प्रस्ताव ल्याउन लगाउने लगायतका क्रियाकलापहरु उनले गर्दै आएका छन् । शान्ति प्रक्रियाको आवरणमा उनले दिल्लीमा आत्मसमर्पण गरी आएको हुँदा देशभक्तिको प्रश्नमा उनीप्रति कतै पनि विश्वास गर्न सकिने ठाउँ छैन ।
माथी उल्लेख गरिएका थोरै दृष्टान्तहरु यो सन्दर्भमा महत्वपुर्ण छन् कि विदेशी शक्तिहरुले कथित राजनेताको पगरी गुथाएर उनलाई खतरनाक हतियारको रुपमा अघि बढाउन प्रयास गरिरहेका छन् । यस विषयमा सचेत हुन किन पनि जरुरी छ भने उनी जस्तो स्वार्थलम्पट व्यक्ति नै साम्राज्यवाद–विस्तारवादका लागि प्रयोग गर्न सर्वाधिक अनुकुल हुन्छ । उनमा दिनैपिच्छे बदलिने बोली, काम र शैलीलाई हेर्ने हो भने उनी कुनै अदृश्य षडयन्त्रमा लागेको पुष्टि हुन्छ । यस्ता पात्रलाई “राजनेता” देखाउन खोज्नेहरुको अवस्था बावुरामलाई वाह वाह गर्नेहरुको जस्तै हुनेछ ।