सरकारले सिमाङ्कन हेरफेर सहित संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको औचित्य नरहेको भन्दै संसद अवरुद्ध गरेको छ । व्यवस्थापिका संसदको विहिबार बसेको बैठकको शुरुमै सभामुखसँग समय लिएर बोलेका नेकपा एमालेका उपाध्यक्ष एवम् माननीय बामदेब गौतमले सरकारले हिमाल, तराई, पहाडलाई अलग्याउने गरी संविधान संशोधन विधयेक ल्याएर देश र जनतालाई द्वन्द्वको दिशामा लाने काम गरेको आरोप लगाए । उनले कस्को इशारामा र कसलाई रिझाउन उक्त विधयेक ल्याएको भनी प्रश्न तेर्साएका थिए । जबसम्म यो प्रस्ताव फिर्ता हुँदैन तबसम्म संसद अवरुद्ध हुन्छ । गौतमले यो संसदलाई प्रदेशको सीमाङ्कन हेरफेर गर्ने अधिकार नभएको दाबी गरे । प्रदेशको सीमा हेरफेर गर्ने अधिकार यो संविधानसभाको रुपान्तरित संसदसँग छैन । यो संविधानको ठाडो उल्लङ्घन हो । संसद अवरुद्ध गर्नेमा एमाले सहित नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी रहेका छन् ।