काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा आफूलाई कुनै अफसोच नभएको बताउनुभएको छ । राष्ट्रपति बाइडेनलले अफगानी नेतालाई एकजुट हुन र ‘राष्ट्रका लागि लड्न’ पनि अपिल गर्नुभएको छ ।
२० वर्ष लामो सैन्य अपरेसनपछि अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिबानले आक्रमण बढाउँदै आएको छ । ६ दिनमा ३४ मध्ये कम्तीमा ८ वटा प्रान्तीय राजधानीमा तालिबानले कब्जा जमाइसकेको छ ।
मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले अफगानिस्तानसँग गरिएको वाचामा अमेरिका प्रतिबद्ध रहेको बताउनुभएको छ । हवाई सहायता र अफगान सुरक्षाकर्मीलाई उपकरण सहयोग भने जारी रहने बाइडेनको भनाइ छ । उहाँले भन्नुभयो,‘उनीहरु आफ्ना लागि लड्नुपर्नेछ ।’
संयुक्त राष्ट्र संघका अनुसार गत महिना मात्रै तालिबान र सुरक्षा फौजबीचको झडपमा १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ । त्यस्तै युनिसेफले जारी हिंसाको मारमा बालबालिका बढी रहेको बताएको छ । मंगलबार मात्रै तालिबानले दुई प्रान्तीय राजधानी फराह र पुल–ए–खुमरी कब्जा गरेका छन् । यसअघि तालिबानले महत्त्वपूर्ण मानिएको कुन्दुज सहरलगायत ६ वटा प्रान्तीय राजधानी आफ्नो कब्जामा लिइसकेको छ । (रासस)




















