काठमाडौं । हिजो (शुक्रबार) देखि नेपाल प्रवेश गरेको मनसुनका कारण देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको छ । त्यसकारण वर्षा हुने क्रम पनि बढ्दै गएको हो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ । कुनै कुनै ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ ।
आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यमसम्म र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै साँझ पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ । वर्षाका कारण बाढी, पहिरो, डुबानजस्ता विपद् निम्तिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो २ बजे विशेष मौसम बुलेटिन जारी गरी दिएको जानकारीअनुसार बंगालको खाडीआसपास विकसित न्यून चापीय क्षेत्रका कारण प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुन प्रवेश गरेका हो । अब एक-दुईभित्रै यो देशभर फैलिने सम्भावना छ । मनसुन जहिले पनि देशको पूर्वी क्षेत्रबाट प्रवेश गर्छ ।
मनसुनका कारण हिजैदेखि देशका धेरै स्थानमा वर्षा सुरु भएको हो । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज बिहान गरिएको मापनअनुसार काठमाडौंमा उपत्यकामा ५२ मिलिमिटर वर्षा भएको छ । यो भनेको भारी वर्षा हो । ५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ । आज पनि काठमाडौं उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।



















