बुटवल । रुपन्देही–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलविरुद्ध सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन्।
मंगलबार दिउँसो बुटवल–११ स्थित होराइजन चोकमा खरेल घरदैलो अभियानमा रहेको जानकारी पाएपछि सहकारी पीडितहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर त्यहाँ पुगेका थिए।
पीडितहरूले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई रु लिएर आऊ’, ‘सहकारी ठगलाई हामी पीडितबीचमा कहिले ल्याउने ?’, ‘जेनजीका माग कस्ले पूरा गर्छ रु’, ‘सिंहदरबार किन जलाएको रु’ लगायतका नारा लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए।
सहकारी पीडितहरू जम्मा भएको जानकारी पाएपछि उम्मेदवार खरेल आफू रहेको स्थानबाट करिब सय मिटर टाढा रहेको एल डोराडो रेष्टुरेन्टभित्र प्रवेश गरेको पीडितमध्येका सोनु श्रेष्ठले बताए। उनका अनुसार खरेल करिब एक घण्टासम्म रेष्टुरेन्टबाट बाहिर ननिस्केपछि पीडितहरू त्यहाँबाट फर्किएका थिए।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको बताइएको छ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको छ। त्यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको अभियोग छ।
सहकारी रकम अपचलन प्रकरणमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्। उनले सोमबार मात्रै तारेख बुझाएका थिए।




















