काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध लगाइएको फौजदारी अभियोग पुष्टि हुन नसकेपछि रिहा भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले सरकारबाट पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्। उनले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः सरकारले हाजिरी जमानीमा रिहा गर्नु परेको उल्लेख गरेका छन्।
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सर्वसाधारण, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गरेको भन्दै प्रहरी प्रशासनप्रति तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।
यसैबीच, आफ्नो रिहाइको माग गर्दै आन्दोलनमा उत्रिने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च राज्यले व्यहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भए एमालेले नै खर्च बेहोर्ने उनको भनाइ छ।
स्वास्थ्य अवस्था अनुकूल नभएकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै ओलीले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।




















