काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहापछि गिरफ्तारी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले गौरी बहादुर कार्की आयोगको “प्रतिशोधी, पूर्वाग्रही र अपूर्ण” प्रतिवेदनलाई आधार बनाएर गरिएको गिरफ्तारी पुष्टि हुन नसकेको बताएका छन्।
उनले अन्ततः हाजिरी जमानीको सहारा लिनुपरेको उल्लेख गर्दै यसले गिरफ्तारीको औचित्यमाथि नै प्रश्न खडा गरेको टिप्पणी गरेका छन्।
कार्की आयोग प्रतिवेदनलाई आधार बनाएर पक्राउ गरिएका ओली र लेखक आज १३ औं दिनमा हाजिरी जमानीमा रिहा भएका हुन्।
पोखरेलले उक्त घटनाक्रमले राज्यका निकायहरूको निर्णय प्रक्रिया, अनुसन्धानको निष्पक्षता र कानुनी आधारबारे गम्भीर बहस आवश्यक भएको संकेत गरेका छन्।



















