काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकार संविधान र विधिको शासनभन्दा बाहिर गएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभर विधिको शासन उल्लङ्घन भइरहेको दाबी गर्दै यस्तो कार्य गर्ने अधिकार सरकारलाई नभएको बताए।
बरालले भदौ २३ र २४ गतेको घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि मुद्दा चलाइएकोप्रति आपत्ति जनाए।
उनले उक्त घटनामा फरक–फरक नजिर स्थापित गर्न खोजिएको आरोप लगाए। ‘सुरक्षा निकायका लागि एउटा, राष्ट्रसेवकका लागि अर्को र पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीका लागि तेस्रो नजिर बनाउने प्रयास भएको छ,’ उनले भने, ‘खोटपूर्ण कानुनी अध्ययनका आधारमा मुद्दा लगाइएको छ, जुन आपत्तिजनक छ।’
उनले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरे।
त्यस्तै नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले पार्टी अध्यक्ष ओलीलाई सरकारले प्रतिशोध राखेको भन्दै भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएकी छन्।
उनले भनेकी छिन्, ‘७ सालदेखि अहिलेसम्म भएका हरेक परिवर्तनका जनआन्दोलनदेखि लिएर जेनजी आन्दोलनसम्मका घटनाक्रमलाई लिएर सरकारले सबै फाइल खोलोस्। नत्र भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधले आन्तरिक रूपमा भित्र हालेर एउटा तपाईँले अभियान सफल नपारियोस्। भोलि यो सरकारले धेरै ठुलो क्षति बेहोर्नुपर्छ।’




















