बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–वरगदा क्षेत्रमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको १६ दिनपछि उपचारका क्रममा मृत्यु भएको छ ।
महाराजगञ्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएपछि वार्डमा सारिएको थियो। तर वार्डमै उनको निधन भएको हो।
गत चैत ७ गते वरगदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा भीड नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीले चलाएको गोली पेटमा लागेर यादव गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थिति नियन्त्रणमा लिन फायरिङ गरेका थिए। यादवलाई कसको गोली लागेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




















