काठमाडौं । नेपाल आयल निगमले पछिल्लो मूल्यवृद्धिपछि पनि पेट्रोलियम पदार्थमा घाटा कायमै रहेको जनाएको छ।
निगमका अनुसार हाल डिजेलमा प्रतिलिटर करिब १२० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ४१६ रुपैयाँ घाटा भइरहेकै अवस्थामा पेट्रोलमा पनि प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा घाटा रहेको छ।
सरकारले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको थियो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य २०२ रुपैयाँ र डिजेलरमट्टितेलको १८२ रुपैयाँ पुगेको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको लागत निरन्तर बढिरहेको जनाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार लागत अत्यधिक बढेपछि घाटा नियन्त्रण गर्न कठिन भएको निगमको भनाइ छ।
निगमका अनुसार मूल्य पूर्ण रूपमा समायोजन गर्न नसक्दा अझै ठूलो घाटा बेहोरिरहनु परेको छ र हालको अवस्थामै पाक्षिक रूपमा अर्बौँ रुपैयाँ नोक्सानी हुने देखिएको छ।
उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गर्दै निगमले मूल्य स्थिरिकरण कोष प्रयोग गरेर पनि आपूर्ति व्यवस्थापन गरिरहेको जनाएको छ।





















