काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले वर्तमान प्रतिकूल परिस्थितिमा विभाजित भएर अघि बढ्न नहुने भन्दै सबैलाई एकतावद्ध हुन आग्रह गरेका हुन्।
‘देशका हरेक संकटमा नेपाली कांग्रेस एकजुट भएर अघि बढ्दै आएको छ,’ उनले उल्लेख गरेका छन्, ‘यही एकताकै बलमा विगतका ऐतिहासिक परिवर्तनमा पार्टीले नेतृत्व गर्दै सफलता हासिल गरेको छ।’
उनले एकतामा नै शक्ति रहने उल्लेख गर्दै त्यसैको बलमा उज्यालो भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा आजदेखि दुई दिने केन्द्रीय समितिको वैठक बोलाएको छ ।
धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिएका छन् ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादृर खड्काले १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने तयारी गरेका छन् ।
संस्थापनइतर समूहको वैठकको पूर्वसन्ध्यामा महामन्त्री पौडेलले अहिलेको अवस्थामा पनि पार्टी विभाजित हुनु नहुने भन्दै आफू केवल पदाधिकारी मात्र नभई एक इमान्दार कार्यकर्ताका रूपमा एकताको पक्षमा उभिएको बताएका हुन ।
‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न हुनु हुन्न,’ उनले भने, ‘म महामन्त्री मात्र होइन, एक इमान्दार कार्यकर्ताका रूपमा आग्रह गर्छु—हामी सबै एकजुट होऔँ।’



















