काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । साथै कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
एमालेले आजबाट नै विरोधको कार्यक्रम तय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनले जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, आइतबार जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको बताए । पार्टीले प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने उनको भनाई छ । कति पनि विचलित नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकता र दृढताका साथ अघि बढ्न समस्त पार्टीपंक्तिलाई एमालेले आह्वान गरेको छ।
यसैगरी एमालेको सचिवालय बैठकले नागरिक समाज र दलहरूसँग सहकार्य र संवादका लागि पदाधिकारीलाई संयोजक पनि तोकेको छ ।
यी हुन् विरोधका कार्यक्रम
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने ।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।






















