काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदनले आयोग निष्पक्ष छानबिनका लागि नबनेको धारणा पुष्टि गरेको बताएका छन् ।
पोखरेलले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानूनी वैधानिकता दिने प्रयास भएको स्पष्ट भएको उल्लेख गरेका छन्। उनका अनुसार सोही प्रभावअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको हो।
पोखरेलले निर्वाचन र कार्की आयोगको प्रतिवेदनपछि नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको बताएका छन्। उनले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट ‘नयाँ शक्ति’ उदाएको दाबी गरेका छन्।
उनले अबको राजनीतिक यात्रा सहज नहुने उल्लेख गर्दै राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौती सामना गर्नुपर्ने अवस्था देखिएको बताएका छन्। यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्याङ्कन गर्न दिनु उपयुक्त हुने उनको भनाइ छ।
यद्यपि, पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समाधानको बाटो नभएको र विचारधारात्मक राजनीति नै स्थायी विकल्प हुने जिकिर गरेका छन्।




















