काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकामा सडक निर्माणका क्रममा भ्रष्टाचारको आरोपमा पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब-इन्जिनियर किरण भण्डारी,लेखापाल रामचन्द्र धामी र निर्माण व्यवसायी मानबहादुर बोहराविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध जनही ८ लाख ४८ हजार ९६२ रुपैयाँ विगो माग गरिएको छ।
उक्त उजुरीका आधारमा अनुसन्धानका क्रममा बागथला–धारी डोबा सडक निर्माण योजनाअन्तर्गत ग्याबिन तथा मेशनरी कार्य नगरी सम्पन्न भएको देखाएको र निर्माणस्थलमा वास्तविक कामभन्दा कम काम गरी झुट्टा बिल तथा प्रतिवेदन तयार गरी रकम भुक्तानी गरिएको पुष्टि भएको अख्तियारको ठहर छ।
नापी किताबमा ३३८ मिटर सिंचाइ क्यानल उल्लेख गरिए पनि फिल्डमा २४८ मिटर मात्र निर्माण भएको भेटिएको छ। साथै,ह्युम पाइप कल्भर्टलगायतका केही संरचनाहरू निर्माण नै नभएको पाइएको आयोगको निष्कर्ष छ।
यसरी मिलेमतोमा झुट्टा कागजात तयार गरी ८ लाख ४८ हजार ९६२ रुपैयाँभन्दा बढी रकम भुक्तानी लिई/दिई नेपाल सरकारलाई हानि पुर्याएको अख्तियारको दावी छ। आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद,जरिवाना तथा बिगो असुलउपरको माग गरेको छ ।




















