काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकमा डर होइन, भरोसा उत्पन्न हुने गरी काम गर्न निर्देशन दिएका छन्।
महानिरीक्षक अर्यालले पशुपतिनाथ बाहिनी मुख्यालयको २२औं स्थापना दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।
‘सुरक्षाकर्मी देख्दा नागरिकमा डरभन्दा पनि भरोसाको महसुस हुनुपर्छ, हामीले यही सिद्धान्तअनुसार काम गर्नुपर्छ,’ उनले भने। आईजीपी अर्यालले मातहतका सुरक्षाकर्मीलाई परिणाममुखी र जिम्मेवार ढंगले काम गर्न पनि निर्देशन दिएका छन्।
काठमाडौं उपत्यका सुरक्षा दृष्टिले संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै उनले पशुपतिनाथ बाहिनीको कार्यसम्पादनप्रति प्रशंसा समेत व्यक्त गरे। प्रतिनिधिसभा निर्वाचन, भीआईपी तथा भीभीआईपी सुरक्षा, महत्त्वपूर्ण संरचनाको सुरक्षा तथा बन्द–हड्तालका बेला नागरिकको सुरक्षामा बाहिनीले महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
कार्यक्रममा बाहिनीपति तथा डीआईजी सुरेश श्रेष्ठले संगठनको नीति निर्देशनअनुसार बाहिनीले काम गरिरहेको जानकारी दिए। उपत्यकामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने, प्रदर्शन तथा विरोधका कार्यक्रमहरूमा सुरक्षा व्यवस्थापन गर्ने लगायतका जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिएको उनले बताए।




















