काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। आज सुनको भाउ तोलामा ६ हजार ५०० रुपैयाँ घटेर २ लाख ७५ हजार ५०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो पनि सुनको मूल्य तोलामा १२ हजार ५०० रुपैयाँले घटेको थियो भने त्यसअघिका दिनहरूमा पनि निरन्तर गिरावट देखिएको थियो। पछिल्ला पाँच दिनमै सुनको मूल्य कुल ३४ हजार ४०० रुपैयाँले घटिसकेको छ।
गत माघ १५ गते सुनको भाउ एकैदिन २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। त्यसयता भने सुनको मूल्य ६३ हजार ८०० रुपैयाँले घटिसकेको छ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा ११५ रुपैयाँले सस्तिँदै ४ हजार ४२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
यसअघि माघ १५ गते चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो भने माघ १८ गते एकैदिन १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन सबैभन्दा ठूलो गिरावट मानिन्छ।




















