रूपन्देही । बुटवलसहित लुम्बिनी प्रदेशका विभिन्न स्थानमा तीव्र हावाहुरीले जनजीवन प्रभावित बनाएको छ।
मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार लुम्बिनी प्रदेशका दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा ठूलो हावाहुरीसँगै वर्षा भएको हो।
हावाहुरीका कारण बुटवलसहित पश्चिम क्षेत्रका धेरै ठाउँमा दिउँसै अँध्यारो भएको देखिएको छ। सडकमै गुडेका सवारीसाधनहरूले बत्ती बाल्नुपरेको थियो भने तीव्र हावाहुरीका कारण कतिपय स्थानमा गाडी रोक्नुपर्ने अवस्था समेत आएको थियो।
यस्तो अवस्थामा रुख ढल्ने, कमजोर संरचना उड्ने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। बाँकेका केही स्थानीय तहले भने जोखिमका कारण आज बिदा समेत दिएका छन्।
हावाहुरीपछि पानी परेसँगै कालो बादल विस्तारै हट्दै केही स्थानमा उज्यालो हुन थालेको जनाइएको छ।




















