काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित नतिजा नआए पनि निराश नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
काभ्रेको अनेकोटमा २८औँ शहीद सांस्कृतिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीले आत्मसमिक्षा गर्दै नयाँ ढंगले अघि बढ्ने बताएका हुन्। शहीदका प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै पुनले नेकपा धुलो टक्टकाएर फेरि उठ्ने दाबी गरे।
उनका अनुसार विचार, राजनीति, संगठन, नेतृत्व र कार्यशैलीमा पुनर्मूल्यांकन गर्दै जनताको भावना र देशको आवश्यकताअनुसार पार्टीलाई पुनर्गठन गरिनेछ। उनले कुनै दिन फेरि मुलुकको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।
निर्वाचनमा रुपान्तरण र सुशासनको एजेण्डा लिएर गए पनि जनताले नेकपालाई पुरानै शक्तिको रूपमा हेरेको स्वीकार गर्दै उनले त्यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए।
पुनले हिंसा र अराजक गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै शान्तिपूर्ण राजनीतिक अभ्यासमा नै पार्टी प्रतिबद्ध रहेको बताए। उनले विगतका संघर्ष, विशेषगरी जनयुद्धका अनुभव स्मरण गर्दै कठिनाइका बाबजुद पार्टी अघि बढ्ने बताए।
“निराशा होइन, शहीदको बलिदानबाट प्रेरणा लिएर नयाँ ढंगले उठ्ने समय आएको छ,” उनले भने, “हाम्रो विचार, संगठन र शैलीको शान्त मनले पुनर्मूल्यांकन गरेर फेरि जनतामाझ जानुपर्छ।”




















