काठमाडाैं । नयाँ प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत पुगेको छ ।
जसले नेपाली संसदलाई दक्षिण एशियाकै उत्कृष्ट समावेशी नमूनाका रूपमा प्रश्तुत गरेको हो । निर्वाचन आायेगका प्रवक्ता नारायणप्रसा भट्टराईकाअनुसार २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक ९६ जना महिला सदस्यहरूले प्रवेश पाएका छन् । यो संख्या नेपालको संसदीय इतिहासमा एक महत्वपूर्ण उपलब्धि हो ।
कुल सदस्य संख्याको करिव ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुले संवैधानिक व्यवस्थाको सफल कार्यान्वयनलाई झल्काएको बताए ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ७ वटा राजनीतिक दलका १ सय ६४ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १ सय ६५ जना निर्वाचित भएका उनले बताए ।
त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ वटा राजनीतिक दलका १ सय १० जना सदस्यहरू निर्वाचित भएका छन् । यसरी नयाँ संसदमा विभिन्न विचारधारा बोकेका दलहरूको सन्तुलित उपस्थिति देखिएको प्रवक्ता भट्टराईको भनाइ छ ।
आयोगकाअनुसार समावेशी क्लस्टरमा नयाँ संसदमा खस आर्य समूहको प्रतिनिधित्व सबैभन्दा बढी ४९.०९ प्रतिशत रहेको छ । त्यसपछि आदिवासी जनजाति समूहको २१.०९ प्रतिशत, मधेसी समूहको १६.७३ प्रतिशत, दलित समूहको ६.१८ प्रतिशत, थारु समूहको ३.२७ प्रतिशत र मुस्लिम समूहको ३.६४ प्रतिशत प्रतिनिधित्व रहेको छ । यो विविधताले नेपालको बहुजातीय र बहुभाषिक पहिचानलाई संसदको नीति निर्माण तहमा बलियोसँग स्थापित गरेको प्रवक्ता भट्टराईले बताए ।




















