काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचार सेवा उपलब्ध गराउन वीर अस्पतालसँग सम्झौता गरेको छ। यो सेवा चैत १६ गतेदेखि सञ्चालनमा आउने जनाइएको छ।
महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र वीर अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पनि उपस्थिति रहेको थियो।
कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरका कारण धेरै महिलाले समयअगावै ज्यान गुमाउने गरेको उल्लेख गर्दै नियमित परीक्षणले रोग समयमै पत्ता लगाउन मद्दत गर्ने बताइन्। अस्पतालका निर्देशक डा. शर्माले लक्षण नदेखिए पनि समयमै स्क्रिनिङ गराउनु अत्यन्त आवश्यक रहेकोमा जोड दिए।
स्वास्थ्य विभाग प्रमुख केसीका अनुसार महानगरभित्रका ३० देखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणबाट छुटेका तथा पोजेटिभ देखिएका महिलालाई लक्षित गरी सेवा प्रदान गरिनेछ। दैनिक १०० देखि १२० जनासम्मको परीक्षण गरिने व्यवस्था मिलाइएको छ।
नेपालमा महिलामा सबैभन्दा बढी देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख भएकाले यस कार्यक्रमलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।



















