काठमाडौँ । समानुपातिक सांसदको सूची सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टिका आवाजहरू उठ्न थालेका छन् । रास्वपा कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि जनाएकी छन्।
तामाङले सामाजिक सञ्जालमार्फत जान्नेलाई छान्ने लहडमा पार्टीले पठाएको सूचीले कोशी प्रदेशको भौगोलिक र जातीय विविधतालाई पर्याप्त रूपमा समेट्न नसकेको टिप्पणी गरेकी हुन् ।
तामाङले कोशी प्रदेशमा पहाडी भूगोलका क्षेत्रहरू पनि समेटिनुपर्ने भन्दै उम्मेदवार छनोटका क्रममा त्यसतर्फ ध्यान नदिइएको उल्लेख गरेकी छन्। उनले ओखलढुंगाबाट २०७९ सालको निर्वाचनमा सक्रिय रूपमा पार्टीको प्रचारमा लागेकी शोभा कार्कीको नाम आउनुपर्ने बताएकी छन्।
यस्तै, खोटाङबाट समानुपातिकतर्फ चर्चित गायिका तथा बौद्धिक व्यक्तित्वका रूपमा चिनिने सत्यकला राईको नाम पनि सूचीमा नपरेकोमा उनले प्रश्न उठाएकी छन्।
तामाङले ताप्लेजुङकी मिरा लाबुङको नाम पनि सूचीमा समावेश हुनुपर्ने उल्लेख गर्दै कोशी प्रदेशको भौगोलिकता र जातीय क्लस्टरलाई समेट्न नसक्दा आगामी दिनमा पार्टीमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएकी छन्।
उनले समुदायका केही व्यक्तिहरू केन्द्रिय नेताहरूको नजिक भए पनि यस्ता विषयमा ध्यानाकर्षण गराउन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी समेत गरेकी छन्।
सुनसरी १ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेकी तामाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङसँग पराजित भएकी थिइन् ।




















