काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू अब पद र संसदीय राजनीतिबाट टाढा रहने तर राजनीतिक संघर्ष भने निरन्तर जारी राख्ने बताएका हुन्।
अध्यक्ष राउतले दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरे पनि निर्वाचनमा भाग लिएको निर्णयप्रति आफू सन्तुष्ट रहेको बताएका छन्।
राउतका अनुसार २०७५ सालमा सरकारले ‘स्वतन्त्र मधेश गठबन्धन’लाई गतिविधि गर्न नदिएपछि नयाँ पार्टी खोल्ने निर्णय गरिएको थियो। त्यसक्रममा अन्य नेताहरूलाई अध्यक्ष बन्न आग्रह गरे पनि उनीहरू नमानेपछि आफू नै जनमत पार्टीको अध्यक्ष बन्नुपरेको उनले उल्लेख गरेका छन्।
२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवार नबन्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहमा अन्ततः चुनाव लडेको र त्यसले पार्टीलाई राष्ट्रिय पार्टी बन्न मद्दत पुगेको राउतको भनाइ छ।
यस्तै २०८२ को निर्वाचनमा भने आफू नलड्ने निर्णय गरेको भए पनि अन्तिम समयमा पार्टीका नेताहरूको आग्रहमा उम्मेदवार बनेको उनले बताएका छन्। यदि आफू नउठेको भए पार्टीको मनोबल घट्ने र त्यसको दोष आफूमाथि आउने अवस्था बन्ने भएकाले चुनाव लड्नुपरेको उनले उल्लेख गरेका छन्।
राउतले अब आफू पद र संसदीय राजनीतिबाट टाढा रहने तर राजनीति भने नछाड्ने स्पष्ट पारेका छन्। “म संसदीय राजनीतिबाट टाढा रहनेछु तर यसको अर्थ राजनीतिबाट गायब हुनु होइन,” उनले लेखेका छन्, “जनताको अधिकार र पहिचानका लागि संघर्ष जारी रहनेछ।”
उनले आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयार गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै, जनताको अधिकार र पहिचानको लडाइँमा सधैं सक्रिय रहने उनले बताएका छन्।




















