काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल नजिक ड्रोन आक्रमणपछि आगलागी फैलिएको जनाउँदै यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर सबै उडानहरू निलम्बित गरिएको अधिकारीहरूले बताएका छन्।
आगलागी नियन्त्रणमा ल्याउन कठिनाइ भइरहेका कारण केही समयका लागि सबै उडान रद्द गरिएको हो। अमेरिकाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको क्षेत्रीय युद्धका कारण मध्यपूर्वका प्रमुख ट्रान्जिट विमानस्थलहरू प्रभावित भएका छन्।
विश्वकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये पर्ने दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौँ उडान प्रभावित भएका छन् भने लाखौँ यात्रु प्रत्यक्ष असरमा परेका छन्। सन् २०२५ मा मात्रै यस विमानस्थलबाट करिब ९ करोड यात्रुले यात्रा गरेका थिए।




















