काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा को–को मन्त्री बन्ने भन्ने विषयमा पार्टीभित्र औपचारिक छलफल नभएको स्पष्ट पारेको छ।
पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारमाध्यममा सम्भावित मन्त्रीका रूपमा सार्वजनिक भइरहेका नामहरूमा कुनै सत्यता नरहेको बताए। उनले पार्टीको सचिवालय बैठक सुरु हुनुअघि यस्तो प्रतिक्रिया दिएका हुन्।
उनका अनुसार समानुपातिकतर्फका सांसदहरू टुंग्याएर निर्वाचन आयोग नेपालले प्रमाणपत्र दिएपछि मात्र भावी मन्त्रीपरिषद्को विषयमा औपचारिक छलफल सुरु हुनेछ।
झाले भने, “अनौपचारिक कुराकानीहरू भएका हुन सक्छन्, तर पार्टीको तहमा भावी मन्त्रिपरिषद्को विषयमा कुनै औपचारिक छलफल भएको छैन। सबै प्रक्रिया सकेर नयाँ सरकार गठन गर्न अझै अन्दाजी १० दिनजति लाग्न सक्छ।”
आफू दोहोरिने सांसदमध्ये एक भएकाले केही अपेक्षा स्वाभाविक भए पनि मन्त्रालयगत दाबी भने नराखेको उनले बताए।
उनले भने, “रास्वपाको दोहोरिने सांसदका रूपमा केही अपेक्षा हुनु स्वाभाविक होला। तर मैले कुनै मन्त्रालयगत दाबी राख्नु राजनीतिक र व्यवहारिक रूपमा उचित हुँदैन भन्ने ठानेको छु। अहिले मेरो चाहना भनेको नेताहरूको स्वास्थ्य चाँडै राम्रो होस् भन्ने मात्र हो। आधारभूत प्रक्रिया छिट्टै टुंगिएर सरकार गठनको प्रक्रिया अघि बढोस्।”
निर्वाचन अभियानका क्रममा भने झाले आफूलाई भावी सञ्चारमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए।




















