काठमाडौं । रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ।
यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त रिटमाथि पूर्ण सुनुवाइका लागि आजका लागि पेसी तोकेको थियो। इजलासले विपक्षीहरूको लिखित जवाफ परिसकेको वा पेश गर्ने म्याद सकिएको उल्लेख गर्दै विषय तत्काल किनारा लगाउनुपर्ने प्रकृतिको देखिएकाले ‘हेर्न नहुने’ बाहेक पेसी स्थगित नगरी सुनुवाइ अगाडि बढाउन आदेश दिएको थियो।
सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध अदालतमा विचाराधीन सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफललगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।




















