काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले राजीनामा नदिन सुझाव दिएका छन् ।
शनिबार बिहान बालुवाटारमा सभापति थापासँग भेट गर्न पुगेका नेताहरूले वर्तमान परिस्थितिमा राजीनामा दिनु समाधान नभएको बताए ।
सभापतिलाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’, मधु आचार्य, अजबबाबु शिवाकाेटी, प्रमोद गुरागाईँ लगायतका नेताहरू बालुवाटार पुगेका थिए ।
भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा निर्वाचनको परिणाम तथा पार्टीभित्र हुने चुनावी समीक्षालगायतका विषयमा छलफल भएको केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिए ।
उनले सभापति थापालाई अहिले राजीनामा दिनु उपयुक्त नहुने सुझाव आफूहरूले दिएको बताए ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेपछि सभापति थापाले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिने संकेत गरेका थिए । तर उपसभापति विश्वप्रकाश शर्माले हतार नगर्न आग्रह गरेपछि उनको निर्णय अहिलेका लागि रोकिएको छ ।
निर्वाचन परिणामको समीक्षा गर्न पार्टीले छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको बताइएको छ ।




















