काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्न आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताको भीड लागेको छ ।
भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर विभिन्न व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । अध्यक्ष ओलीले पनि अस्पताल पुगेर बुवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
९७ वर्षको उमेरमा आज बिहान अस्पतालमै उपचारका क्रममा मोहनप्रसादको निधन भएको हो । उनी केही समयदेखि गठ्ठाघरस्थित छोरीको घरमा बस्दै आएका थिए । गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा झापास्थित उनको घरमा आगजनी भएको थियो। त्यसपछि उनी गठ्ठाघरमै बस्दै आएका थिए । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।





















