काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सकिए पनि समानुपातिकतर्फको मतगणना भने अझै जारी छ। आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ।
हालसम्मको परिणामअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ४९ लाख ६७ हजार ४३ मत पाएको छ। यस आधारमा रास्वपाले समानुपातिकबाट करिब ५८ सिट थप्ने सम्भावना देखिएको छ।
प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेस समानुपातिकतर्फ १६ लाख ८४ हजार १७५ मतसहित दोस्रो स्थानमा छ। कांग्रेसले समानुपातिकबाट १९ सिट थप्ने सम्भावना देखिएको छ।
प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख २४७ मत पाएको छ। यस आधारमा एमालेले १६ सिट थप्ने अनुमान गरिएको छ।
त्यस्तै प्रत्यक्षमा ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ७ लाख ६१ हजार ६८० मत पाएको छ र उसले ९ सिट थप्ने सम्भावना देखिएको छ।
चार महिना अघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको थियो। समानुपातिकतर्फ उसले ३ लाख ४९ हजार १४० मत पाएको छ। थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टीको मान्यता पाएको उक्त पार्टीले ४ सिट थप्ने सम्भावना छ।
यसैगरी प्रत्यक्षतर्फ १ सिट जितेको राप्रपाले समानुपातिकतर्फ ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ। थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टी बनेको राप्रपाले पनि समानुपातिकबाट ४ सिट थप्ने सम्भावना देखिएको छ।
| पार्टी | प्रत्यक्ष सिट | समानुपातिकबाट थपिने सम्भावित सिट | कुल सम्भावित सिट |
|---|---|---|---|
| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) | १२५ | ५८ | १८३ |
| नेपाली कांग्रेस | १८ | १९ | ३७ |
| नेकपा एमाले | ९ | १६ | २५ |
| नेपाल कम्युनिस्ट पार्टी | ७ | ९ | १६ |
| श्रम संस्कृति पार्टी | ३ | ४ | ७ |
| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) | १ | ४ | ५ |
नोट : यो तालिका हालसम्म गणना भएको समानुपातिक मतको आधारमा गरिएको सम्भावित अनुमान हो । अन्तिम र आधिकारिक परिणाम निर्वाचन आयोगले मतगणना सकिएपछि मात्र सार्वजनिक हुने छ ।




















