काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालै सम्पन्न चुनावी परिणामको आधारमा पार्टीलाई निर्मम आत्मसमीक्षासहित पुनर्गठन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले भनेका छन् कि नयाँ नीति र योजना बनाएर केन्द्रित रणनीतिक कार्यभारका माध्यमबाट एकता, ध्रुवीकरण, सहकार्य र संयुक्त मोर्चासहित समग्र रूपान्तरण गर्नु आवश्यक छ ।
श्रेष्ठका अनुसार, पार्टी पुनर्गठन मार्फत देश र जनताको पक्षमा संघर्षको नीति योजना बनाएर क्रान्तिनिष्ठा, धैर्य, विवेक र साहसका साथ दृढतापूर्वक अघि बढ्नुपर्ने छ।
उनले थप स्पष्ट पारेका छन्, “अब हामीले वस्तुनिष्ठ भई समग्र परिस्थितिको विश्लेषण, संश्लेषण गरेर निर्मम आत्मसमीक्षा सहित नयाँ नीति र योजना बनाएर अघि बढ्नु जरुरी छ। हाम्रो कार्यदिशाले शान्तिपूर्ण परिवर्तनमा आधारित रहेकाले निर्वाचन र सरकार मार्फतको कामलाई महत्त्वपूर्ण ठान्दछ तर त्यसैलाई मात्र सम्पूर्ण ठान्दैन।”
श्रेष्ठले शान्तिपूर्ण कार्यदिशा अन्तर्गत सरकार, सदन र सडक सङ्घर्षको मोर्चामध्ये कुन बेला कुन मोर्चा प्रमुख हुन्छ भन्ने निर्णय तत्कालीन परिस्थितिमा भर पर्ने पनि बताए।
उनले हालै निर्वाचित संयोजक प्रचण्डसहित सबैलाई बधाई दिँदै पाँच मुख्य कार्यभारमा जोड दिएका छन्:
- राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्नु तथा राष्ट्रिय एकता सुदृढ पार्नु।
- नेपाली जनताले ६ दशकभन्दा बढी बलिदानपूर्ण सङ्घर्ष गरेर प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तनका उपलब्धिहरू – समावेशी संघीय गणतन्त्रात्मक लोकतन्त्र र संविधानको रक्षा गर्नु तथा त्यसलाई सुदृढ र परिमार्जन गर्दै लैजानु।
- शान्ति प्रक्रियाको बाँकी कार्यभार, सङ्क्रमणकालीन न्याय कार्य पूरा गर्नु।
- सामाजिक आर्थिक रूपान्तरणमार्फत सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य पूरा गर्नु र जनताको जीवन स्तर सुधार गर्नु।
- नेपालमा समाजवाद निर्माण गर्दै समाजवादी क्रान्तिको रणनीतिक कार्यभार पूरा गर्नु।
श्रेष्ठको प्रस्तावले पार्टीलाई आन्तरिक रूपमा मजबुत पार्दै नयाँ रणनीति र कार्यदिशा तय गर्ने दिशामा महत्वपूर्ण कदमको संकेत गरेको छ।




















