झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरमै गएर कुटपिट गरिएको छ।
प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारीका ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमा पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन्। सिटौला जापानबाट फर्किएका व्यक्ति भएको खुलेको प्रहरीले जनाएको छ।
मेयर सुवेदीका अनुसार सिटौला एक्कासि घरमै आएर विवाद सुरु गरेका थिए। विवादका क्रममा आफूमाथि हातपात भएको उनले बताएका छन्। सुवेदीले भने, “उहाँ किन घरमा आउनुभयो, रिसइवी के हो भन्ने पनि थाहा छैन। एक्कासि घरमै आएर विवाद गर्दै हातपात गर्नुभयो।”
सुवेदी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।
प्रहरी चौकी महारानीझोडाबाट चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।



















