काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि लागू गरिएको एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सबै निकायसँग समन्वय र सहकार्य गर्दै काम भइरहेको नेपाली सेनाले जनाएको छ।
बुधबार सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सेनाको गैर–राजनीतिक चरित्र कायम राखी जिम्मेवारी निर्वाह भइरहेको स्पष्ट पारेको हो। विज्ञप्तिमा भनिएको छ, “आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेनाले आफ्नो गैर–राजनीतिक चरित्र कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौँ।”
केही सञ्चारमाध्यममा सेनाले मतदान केन्द्रमै खटिने तथा मतपेटिका ढुवानी गर्ने भन्ने समाचार प्रकाशित भएपछि त्यसबारे सेनाले प्रष्टिकरण दिएको जनाएको छ।
सेनाले भनेको छ, “आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गराउन सबै सुरक्षा अंग तथा सरोकारवाला निकायहरू एकीकृत र समन्वयात्मक ढंगले कार्य गरिरहेका बेला प्रसारित असान्दर्भिक र अतिरञ्जित सामग्रीहरूप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ।”
त्यस्ता सूचनामा सत्यता नरहेको स्पष्ट गर्दै सेनाले आम जनसमुदायलाई भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। “सुनियोजित रूपमा प्रसारित त्यस्ता भ्रामक सूचनामा विश्वास नगर्न/नगराउन नेपाली सेना हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।
एकीकृत सुरक्षा योजनाअनुसार प्रतिनिधिसभा निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिँदै छ। योजनाअनुसार मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ।
यसअघिल्ला निर्वाचनहरूमा पनि यही ढाँचाअनुसार सुरक्षा निकाय परिचालन हुँदै आएको सेनाले जनाएको छ।





















