काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् ।
निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले प्रत्येक मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे।
उनले भने, “निर्वाचन प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला हो। आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता दिन्छ। त्यसैले भोलि २०८२ फागुन २१ गते बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्न हार्दिक अनुरोध गर्दछु।”
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन लागेको स्मरण गराउँदै भण्डारीले यस निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरे।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको पनि स्पष्ट पारे।
भण्डारीका अनुसार आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित वातावरणमा सम्पन्न गर्न दृढ संकल्पित छ। यसका लागि सबै सरोकारवालाको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए।
मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताए।
उनले भने, “राजनीतिक व्यवस्था, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने निर्णय हरेक मतदाताले खसाल्ने एक–एक मतले तय गर्छ। त्यसैले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान हो।”
मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्ति मान्दै उनले सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व अझ बलियो बनाउने धारणा राखे।
निर्वाचन व्यवस्थापनका क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र सञ्चारमाध्यमको सहयोगप्रति धन्यवाद दिँदै भण्डारीले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताए।



















