जनकपुरधाम । विष्फोटक पदार्थसहित पक्राउ परेका पर्सा–२ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइने भएको छ। उनी सवार गाडीबाट फेला परेको बम भने नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार वीरगञ्जको बरहनियार चोकमा नियमित चेकजाँचका क्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा.१० च १२५० नम्बरको रातो कारबाट बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला पारेको थियो। शंकास्पद सामग्री भेटिएपछि उम्मेदवार चौधरीसहित सत्यनारायण थारु, सुरज कार्की र गाडी चालकलाई नियन्त्रणमा लिइएको हो। उनीहरू हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्।
प्रहरीका अनुसार चौधरी सवार गाडीबाट सुतली बम र सुँगुरको टाउकोसमेत बरामद भएको छ। चौधरीलाई गएराति करिब १० बजे पर्साको पर्सागढी नगरपालिका–३ बडनिहारबाट पक्राउ गरिएको थियो।
आज बिहान सेनाको टोलीले गाडी खानतलासी गर्दा नौ थान सुतली बम, एउटा सुँगुरको टाउको र करिब १० मिटर तार बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१७ निवासी ४६ वर्षीय मनोज कुमार चौधरी, बाराको प्रसौनी गाउँपालिका–४ का २६ वर्षीय सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–९ का ३० वर्षीय सुरज कार्की र पर्सागढी नगरपालिका–३ का ६८ वर्षीय सत्यनारायण थारु रहेका छन्।
उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
समूहले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित मस्जिदमा सुँगुरको टाउको फाल्ने र सुतली बम प्रयोग गरी त्रास फैलाउने योजना बनाएको सूचनापछि सुरक्षाकर्मी सक्रिय भएका थिए।
डीएसपी बस्नेतका अनुसार नेपाली सेनाबाट प्राप्त हुने प्रतिवेदनका आधारमा चारै जनाविरुद्ध फौजदारी कसुरमा अनुसन्धान गर्न हिरासतमा राखिनेछ। कार्यालय खुलेपछि जिल्ला अदालतबाट म्याद थप गरिने उनले बताए।
उम्मेदवार चौधरी यसअघि माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगर कमिटीका अध्यक्षसमेत रहिसकेका थिए।




















