काठमाडौँ । निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाले वीरगंजमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आतंक फैलाउने तथा सम्भावित धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रयासमा संलग्न समूहलाई बन्दोबस्तीका सामग्रीसहित नियन्त्रणमा लिएको छ।
समूहले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित मस्जिदमा सुँगुरको टाउको फाल्ने र पटाका प्रयोग गरी त्रास फैलाउने योजना बनाएको सूचनापछि सुरक्षाकर्मी सक्रिय भएका थिए।
उपसेनानी विकास मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगंज–१६ छप्कैया चोक क्षेत्रमा निगरानी गर्दै राति १२ः३० बजेदेखि २ः३० बजेसम्मको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक कारबाहीका लागि पर्सा प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ।
सेनाका अनुसार वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र इनरुवाकै १६ वर्षीय अवजित यादवलाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट ठूलो मात्रामा सुतली बम, मोबाइल फोन, पावर बैंक, चार्जर, सेतो रङको तार तथा सुँगुरको टाउको बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।




















