काठमाडौं । निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ। बैठकमा भोलि हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल हुने बताइएको छ।
देशभर प्रतिनिधिसभा निर्वाचन हुन लागेको र सुरक्षा दृष्टिले निर्वाचन संवेदनशील मानिएकाले प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थाप्रति विशेष चासो राख्दै आएकी छन्। बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले हालको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिको बैठक पनि जारी छ। बैठक गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा भइरहेको छ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।
सुरक्षा समितिको बैठकमा देशको समसामयिक अवस्था, निर्वाचन तयारी, शान्ति–सुरक्षा स्थिति तथा निर्वाचनका दिन अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे छलफल भइरहेको जनाइएको छ। साथै, केन्द्र र जिल्लाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा पनि समीक्षा गरी आगामी रणनीति तय गर्ने तयारी गरिएको छ।




















