काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार बिहान मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरी निर्वाचन सुरक्षा व्यवस्थासहित सम्पूर्ण व्यवस्थापकीय काम सम्पन्न भएको निष्कर्ष निकालेको हो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारी तथा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागितामा भएको भर्चुअल बैठकमा जिल्लागत तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइएको थियो।
गृह मन्त्रालयमा करिब तीन घण्टा चलेको उक्त बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयका विषयमा केन्द्रित भएर छलफल भएको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यले जानकारी दिइन्।
उनका अनुसार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र हाल शान्ति सुरक्षाको अवस्था सामान्य रहेको विवरण प्रस्तुत गरिएको छ।
बैठकमा जिल्लाको तयारी अवस्था, विद्यमान परिस्थिती र केन्द्रले गर्नुपर्ने समन्वयका विषयमा पनि छलफल भएको थियो। साथै, शान्ति सुरक्षा स्थिति, निर्वाचनका दिन अपनाउनुपर्ने सतर्कता तथा सुरक्षा संवेदनशीलताबारे समीक्षा गर्दै आगामी रणनीति तय गर्ने सहमति भएको छ।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ प्रभावकारी र मजबुत बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्। बैठकमा सहभागी सबै प्रमुख जिल्ला अधिकारीहरूले कर्मचारी, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री मतदानस्थलमा पुगिसकेको जानकारी गराएका छन्।




















