काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित निर्देशन सम्बोधनमा आईजीपी कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिँदै भयरहित, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुनुपर्ने बताए।
उनले निर्वाचनको पूर्व, मतदानको समय तथा निर्वाचनपछिको अवधिमा अपनाउनुपर्ने सुरक्षा सतर्कता र समसामयिक विषयमा स्पष्ट निर्देशन दिँदै निर्वाचनका बेला नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने उल्लेख गरे। सम्भावित सुरक्षा चुनौतीको सामना गर्न आवश्यक रणनीतिसहित प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने उनले बताए।
आईजीपी कार्कीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिए। साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने, अवाञ्छित गतिविधिमा संलग्न हुने तथा सामाजिक सञ्जालमार्फत गलत वा मिथ्या सूचना फैलाउने व्यक्तिलाई कानुनी दायरामा ल्याउन थप सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए।




















