काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वी मुलुकहरूमा भइरहेको युद्ध र आकाशबाट बर्सिएका मिसाइलका दृश्यले आफूलाई गहिरो पीडा र चिन्तामा पारेको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले युद्धग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली अपत र कोलाहलको अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन्। ती नेपालीका परिवार नेपालमै बसेर पलपल छट्पटाइरहेको भन्दै ओलीले यस्तो अवस्था स्वाभाविक नभई अत्यन्तै खतरनाक भएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “आज संसारभर संसारकै नागरिक छन्, अवसर छनोटको खुला विश्वमा यो स्वाभाविक हो। तर अस्वाभाविक र खतरनाक कुरा भनेको युद्ध र भूराजनीतिक चपेटा हो।”
ओलीका अनुसार युद्धग्रस्त ती देशहरू स्वयंले पनि युद्ध नचाहेको हुन सक्छन्, तर शक्तिराष्ट्रहरूको स्वार्थ हाबी भएपछि उनीहरू विवश बन्नुपरेको अवस्था सिर्जना भएको छ।
नेपालको सन्दर्भ उल्लेख गर्दै उनले सौभाग्यवश यस भूमिमा मिसाइलको धुवाँ भोग्न नपरेको भन्दै कुनै पनि आवरणमा नेपालमा युद्धको छाया पर्न नदिन प्रार्थना गरेको बताएका छन्।
“आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु,” ओलीले लेखेका छन्, “यस बेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ।”
उनले अन्त्यमा विवेक, धैर्य र साहस आवश्यक रहेको उल्लेख गर्दै युद्धको त्रासदीबाट मानवता जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने संकेत गरेका छन्।



















