विराटनगर । श्रम संस्कृति पार्टीले धरानमा विशाल चुनावी प्रचार सभा आयोजना गरेको छ। सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत पर्ने धरानमा आयोजित उक्त सभालाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए ।
सभामा विभिन्न जिल्लाबाट सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । यसअघि सुनसरी क्षेत्र नम्बर २ को इटहरीमा पनि पार्टीले चुनावी र्याली निकालेको थियो, जसमा सयौँको संख्यामा सर्वसाधारण सहभागी थिए ।
धरानको चुनावी सभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले मुलुकलाई फेसबुक र एआईको भर्चुअल दुनियाँबाट चल्ने प्रधानमन्त्री नभई धरातलमा पसिना बगाउने वास्तविक सेवकको खाँचो रहेको बताए ।
काठमाडौँका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीप्रति कडा कटाक्ष गर्दै साम्पाङले संकटका बेला जिम्मेवारीबाट पन्छिनेहरूले देशको नेतृत्व गर्न नसक्ने जिकिर गरे । जेन्जी आन्दोलन र देशको अस्थिरताका बेला अन्य नेताहरू सामाजिक सञ्जालमा सीमित हुँदा आफू भने जनताको अभिभावक बनेर सडकमा उभिएको उनको दाबी छ । उनले रास्वपाले चुनाव जिते रविले बालेनलाई जिल्याउँदै आफू प्रधानमन्त्री बन्ने भित्री मनसाय राखेको ठोकुवा गरेका छन् ।
साम्पाङले रास्वपाले सरकार बनाएको १०० दिनभित्र सहकारी पीडितको पैसा फिर्ता गर्ने कुरालाई भ्रमको संज्ञा दिए । उनले प्रश्न गरे फिर्ता गर्ने पैसा कहाँबाट आउँछ ? के विदेशबाट बोराका बोरा पैसा आएको छ ?
अध्यक्ष साम्पाङले आफूले कसैको विरोध नगरी केवल सत्य ओकलेको बताए । उनले भने, ‘अहिले साँचो बोल्न पनि डराउनुपर्ने अवस्था छ। हिजोसम्म हामीलाई झुट बोल्न सिकाइयो, अहिले सत्य बोल्दा डर लाग्ने स्थिति सिर्जना भएको छ।’ आफू सत्य बोल्न र सत्य सुन्न सक्ने नेता भएको दाबी गर्दै उनले जस्तोसुकै परिस्थितिमा पनि साँचो कुरा बोल्नुपर्नेमा जोड दिए ।
उनले जेन्जी आन्दोलन आफूहरूले नचाहे पनि परिस्थितिवश भएको र त्यसपछि देशमा सरकारको अस्तित्व नै नरहेको दाबी गरे ।
यो चुनाव उम्मेदवारको मात्र नभई पार्टीहरूको पनि भएको बताउँदै उनले धेरै पार्टीहरूको भिडमा अलमल नपरी काम गर्ने पार्टीलाई मत दिन आह्वान गरे । उनले श्रम संस्कृति पार्टी देशको स्वाधीनता रक्षाका लागि दर्ता भएको स्पष्ट पारे ।




















