काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा जारी छ । स्वयंसेवक परिचालन गरी ३ फागुनदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम १७ फागुनसम्म जारी रहनेछ । मतदान केन्द्रका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् ।
मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उनले बताए । निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ । (रासस)




















