दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।
मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ ।
शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’मा उनले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए ।
एमाले चुनावबाट नभाग्ने भएकाले देशैभर त्यसैमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने उल्लेख गरे। त्यसपछि एमालेले देशमा आइपरेका समस्याको समाधान निकाल्ने उनले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै प्रकारका धाँधली एमालेलाई मान्य नहुनेसमेत बताए । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनको भनाइ छ । कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यसलाई चिर्ने काममा लाग्न आग्रह गरे ।
कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासा सम्बोधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भुमिका निर्वाह गर्छ ? भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने जवाफ दिए । एमालेका कार्यक्रम र सिद्धान्तहरु जनतासम्म लैजान पनि उनले युवा तथा विद्यार्थीहरूलाई अपिल गरेका छन्।




















