काठमाडौं । नेकपा एमालेका तर्फबाट झापा–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्व सभामुख देवराज घिमिरेले महाकाली सन्धिका विषयमा आफू पूर्ण रूपमा स्पष्ट रहेको बताएका छन्। सामाजिक सञ्जालमा आफू ‘अल्गोरिदम बायस’ को शिकार भएको उल्लेख गर्दै उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
घिमिरेले महाकाली सन्धिबारे विभिन्न जिज्ञासा उठिरहेको भन्दै यस विषयमा भ्रम फैलिएको बताएका छन्। “महाकाली सन्धिबारे म स्पष्ट छु। सोधिने प्रश्नको जवाफ मैले निरन्तर दिइरहेको छु,” उनले लेखेका छन्। साथै, ‘घृणाको राजनीति’ गर्नेहरूलाई सन्धिको अध्ययन र विश्लेषण गर्न आग्रह गरेका छन्।
केही दिनअघि एक व्यक्तिले आफूलाई ‘भाइरल बनाउने नियतले’ भिडियो खिचेर यही विषयमा प्रश्न गरेको र नियोजित उद्देश्य देखिएपछि जवाफ नदिएको उनले उल्लेख गरेका छन्। उक्त भिडियो अहिले अमुक दलको प्रचार सामग्री बनेको उनको भनाइ छ।
घिमिरेले कुनै पनि सन्धिमा आफूले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्। “उक्त समयमा म सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदामा पनि थिइनँ,” उनले लेखेका छन्। लोकतान्त्रिक दलभित्र बहस र छलफल हुने र पार्टीभित्र आफ्नो मत व्यक्त गर्नु स्वाभाविक प्रक्रिया भएको उनको तर्क छ।
पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत राख्छ भन्ने धारणा देख्दा आफूलाई दुःख लागेको उनले बताएका छन्।
आफू पाँच दशकदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै घिमिरेले राजनीति आफ्नो पेसा नभई सेवा भएको बताए। “मैले बिना श्रमको एक रुपैयाँ पनि लिएको छैन। ओहदा र प्राप्तिका लागि राजनीति गरेको होइन,” उनले लेखेका छन्।
तीन वर्षअघि प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी पाउँदा इमानदार रूपमा काम गरेको र झापा–२ का जनताका लागि सकेसम्म योगदान दिएको दाबी पनि उनले गरेका छन्।





















