काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन शान्तिपूर्णबाट एकाएक हिंसात्मक मोडमा कसरी पुग्यो भन्ने विषयमा आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्नहरू सार्वजनिक गरेकी छन्। उनले आन्दोलनलाई नियतवश उग्रतातर्फ धकेलिएको आशंका व्यक्त गर्दै राज्य, सुरक्षा निकाय र आन्दोलन नेतृत्वको भूमिकामाथि प्रश्न उठाएकी हुन्।
पाण्डेले शान्तिपूर्ण प्रतिबद्धतासहित सुरु भएको आन्दोलनमा बिहान करिब ९:३० बजे माइतीघरमा झडप कसरी भयो र किन उग्र नारा लाग्यो भन्ने प्रश्न गरेकी छन्। उनका अनुसार करिब ११ बजे जेन–जी समूहले नै ‘आन्दोलनमा घुसपैठ भइसकेको छ, अवस्था सुरक्षित छैन, सबै घर फर्किनुहोस्’ भन्दै सामाजिक सञ्जालमार्फत आधिकारिक सूचना जारी गरिसक्दा पनि अग्रपंक्तिमा रहेका नेतृत्व र माइकको पहुँचमा रहेका व्यक्तिहरूले त्यो बेवास्ता गरेको देखिन्छ।
“जोखिम स्पष्ट भइसकेपछि पनि आन्दोलन अघि बढाइरहनु कसको निर्णय थियो?” भन्दै उनले ब्यारिकेड तोड्न कसले उक्सायो र शान्तिपूर्ण प्रदर्शनको उद्देश्य हुँदाहुँदै जुलुस संसद् भवनसम्म कसरी पुग्यो भन्ने प्रश्न उठाएकी छन्।
भदौ २४ को घटनामा राज्य र सुरक्षा निकायको भूमिकाप्रति पनि उनले गम्भीर आलोचना गरेकी छन्। “त्यतिबेला सरकार र सुरक्षा संयन्त्र कहाँ थिए?” भन्दै उनले विद्यालयको पोशाकमा रहेका नाबालकमाथि गोली चलाउने आदेश कसले दियो र ‘स्कुलको पोशाकमा भएका विद्यार्थीलाई प्रहरीले केही गर्दैन’ भन्ने भ्रम कसले फैलायो भन्ने प्रश्न गरेकी छन्।
सिंहदरबार जलाउन कसले उक्सायो र देशभर एउटै शैलीमा, एउटै समयमा संगठित रूपमा आगजनी कसरी सम्भव भयो भन्ने प्रश्न पनि उनले उठाएकी छन्। मानिसहरू घरभित्र हुँदा बाहिरबाट आगो लगाइनु ‘हत्या प्रयास’ (attempt to murder) ठहर्छ कि ठहर्दैन भन्ने विषयमा सत्य सार्वजनिक हुनुपर्ने उनको माग छ।
भाटभटेनी सुपरमार्केटमा भएको आगजनीमा भदौ २४ गते ७ जनाको मृत्यु भए पनि उनीहरूको पहिचान र मृत्युको कारणबारे राज्य मौन रहेको भन्दै उनले आक्रोश व्यक्त गरेकी छन्। “राज्यप्रति आक्रोशित मानिस किन भाटभटेनी जलाउन जान्छ? त्यो आक्रोश कसले, किन र कसरी मोडिदियो?” भन्ने प्रश्न उनले उठाएकी छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख (सहकारी ठगी काण्डमा जेल रहेका रवि लामिछाने) लाई प्रहरीले सुरक्षित रूपमा बाहिर निकालेको तर त्यही दिन १० जना बन्दीहरू प्रहरीकै गोलीबाट मारिएको उल्लेख गर्दै यसलाई दोहोरो मापदण्ड र चरम पाखण्डको उदाहरण भएको बताएकी छन्। “कसैलाई सुरक्षा, कसैलाई गोली—यो कस्तो न्याय हो?” भन्दै उनले नेपाल प्रहरी ले यसको जवाफ दिनुपर्ने बताएकी छन्।
जेन–जी आन्दोलनमा भएको क्षतिको छानबिन गर्न गौरीबहादुर कार्की को अध्यक्षतामा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक नगरिनु पनि आगामी निर्वाचनसँग जोडिएको हुन सक्ने उनको दाबी छ। “गोली चलाउन लगाउने र सिंहदरबार जलाउन उक्साउने दुवै पक्षको सत्य बाहिर आएपछि मात्र जनताले चुनावमा सही निर्णय गर्न सक्छन्,” उनले लेखेकी छन्।
उनले ‘भदौ २३ कि २४’ भन्ने मितिगत बहसभन्दा पनि दुवै दिनमा नेपाली नागरिक मारिएको यथार्थ स्वीकार गर्दै सत्य र जिम्मेवारी सार्वजनिक गर्नुपर्नेमा जोड दिएकी छन्। “सत्य बिना हुने चुनाव लोकतन्त्र होइन, व्यवस्थित भ्रम मात्र हो,” पाण्डेको निष्कर्ष छ।



















